सुर्तीजन्य पदार्थ प्रयोग नगर्न सुझाव

दैलेख : सरोकारवालाहरूले सुर्तीजन्य पदार्थको प्रयोग नगर्न जोड दिएका छन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतको सूचना तथा सञ्चार केन्द्रको आयोजना र आउटरिच मिडियाको समन्वयमा आइतबार सम्पन्न एक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सुर्तीजन्य पदार्थको सेवनले मानिसको स्वास्थ्य गम्भीर समस्या पैदा गर्ने भएकाले यसको प्रयोग नगर्न जोड दिएका हुन् ।

सुर्तीजन्य पदार्थको सेवनले विश्वमा ७ सेकेन्डमा एक जनाको ज्यान जाने गरेकाले यसको प्रयोग नगर्न आग्रह गरिएको हो । पछिल्ला वर्षहरूमा युवा पुस्ताले सुर्तीजन्य पदार्थको बढी प्रयोग गर्ने गरेकाले यसको रोकथाममा सबैले हातेमालो गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिए ।

अन्तरक्रिया कार्यक्रममा यहाँको नारायण नगरपालिकाका उपप्रमुख तप्ता कुमारी थापाले स्थानीय सरकारले सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा पार्ने असरका बारेमा विद्यालय स्तरमा जनचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । सुर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन सबै एक भएर लाग्नुपर्ने उपप्रमुख थापाको भनाई छ ।

दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सुर्तीजन्य पदार्थको प्रयोग युवाहरूले धेरै गर्ने भएकाले यसको रोकथाममा सरोकारवाला निकाय सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । उनले सुर्तीजन्य पदार्थको प्रयोगले स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले यसको प्रयोग नगर्न आग्रह गरे ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका स्वास्थ्य व्यवस्थापक डा धर्मराज रेग्मीले सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्य गम्भीर समस्या ल्याउने भएकाले यसको प्रयोग नगर्न आग्रह गरे । ‘सुर्तीजन्य पदार्थको प्रयोगले मानिसको स्वास्थ्यमा गम्भीर समस्या ल्याउँछ । बाझोपनको समस्या, हार्ट अट्याक, अक्सिजनको कमी यसका प्रमुख समस्या हुन् ।’, स्वास्थ्य व्यवस्थापक रेग्मीले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार